कार्यालयको परिचय

मधेश प्रज्ञा-प्रतिष्ठान किन ?
नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना तत्कालीन नेपाल सरकारबाट ‘नेपाल एकेडेमी ऐन २०१४’ पारित गरी सोही ऐनअनुसार नेपाली साहित्य, कला एकेडेमीको नाममा भएको थियो । वि.सं. २०१४ मा गठित यो प्रतिष्ठान २०३१ मा पुनः अर्का ऐनद्वारा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानमा परिणत भयो । नेपालमा गणतन्त्रको स्थापना भएपछि साविक नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानमा रहेका ललितकला, सङ्गीत र नाट्य विधाका निम्ति अलग्गै प्रज्ञा-प्रतिष्ठानको गठन गर्ने व्यवस्था विभिन्न विधामा प्राज्ञिक कार्य गर्ने उत्तरदायित्वका साथ नेपाल प्रज्ञा-प्रतिष्ठान ऐन २०६४ द्वारा सङ्गठित नेपाल प्रज्ञा-प्रतिष्ठान हाल क्रियाशील रहेको छ।
त्यसको साथसाथै नेपालका भाषाहरूको स्तरोन्नति, संघीय सरकारलाई सरकारी कामकाजको लागि नेपालीका अतिरिक्त अन्य भाषाहरूलाई क्रमशः सिफारिश गर्न र तीनै तहका सरकारहरूले चाहेमा भाषा सम्बन्धी सुझाव दिनुको साथै भाषा सम्बन्धी अन्य निर्णयहरू गर्दा नेपाल सरकारलाई पनि सुझाव तथा सिफारिस गर्न संवैधानिक भाषा आयोगको पनि स्थापना भयो ।
यसको बावजुद ती प्रज्ञा-प्रतिष्ठानहरूमा अहिलेसम्म एकातिर संघीयता र समानुपातिकताको मर्म अनुसार न त प्राज्ञिक प्रतिनिधित्व भएको देखिन्छ न नेपालका भाषिक-सांस्कृतिक विविधता अनुसारका समावेशी चरित्रको कुनै काम नै भएको छ । यसले गर्दा संघीय नेपालका सात वटै प्रदेशहरु आफ्ना प्रदेश भित्रका भाषा, साहित्य, संस्कृतिको विकासका निमित्त प्रज्ञा - प्रतिष्ठान गठन गर्ने सोच बनाए ।
मधेश सरकार पनि यसै सोचलाई दृढतापूर्वक ग्रहण गरी मधेश प्रदेशका सबै भाषा, साहित्य, संस्कृति, ललितकला, नाट्यकला, सङ्गीत आदिको अध्ययन, अनुसन्धान गरी संरक्षण, संवर्द्धन र विकास गर्न यस मधेश प्रज्ञा-प्रतिष्ठानको गठन गरेको हो । यो प्रतिष्ठानले मधेशको भूगोल र पहिचानलाई अनुसन्धानमूलक कृतिको माध्यमले मजबुतीका साथ प्रदेश, राष्ट्र र अन्तर्राष्टिय जगतसम्म पुर्‍याउने आफ्नो लक्ष्य राखेको छ । यसको लागि प्रदेश सरकार, बौद्धिक जमात र अध्यनशील समाजको पूर्ण सहयोग र समर्थन को आवश्यकता रहिरहने छ ।

मधेश प्रज्ञा - प्रतिष्ठान

मधेश सरकार पनि यसै सोच लाई दृढतापूर्वक ग्रहण गरी मधेश प्रदेशका सबै भाषा, साहित्य, संस्कृति, ललितकला, नाट्यकला, सङ्गीत आदिको अध्ययन, अनुसन्धान गरी संरक्षण, संवर्द्धन र विकास गर्न यस मधेश प्रज्ञा-प्रतिष्ठानको गठन गरेको हो । यो प्रतिष्ठानले मधेशको भूगोल र  पहिचान लाई अनुसन्धान मुलक  कृतिको माध्यम बाट  मजबुतीका  साथ प्रदेश,राष्ट्र र अन्तर्राष्टिय जगत  सम्म पुर्याउने आफ्नो  लक्ष्य राखेको छ । यसको लागि प्रदेश सरकार,बौद्धिक जमात र अध्यनशील समाजको पूर्ण सहयोग र समर्थन को आबश्यकता रही रहने छ ।

प्रतिष्ठानको काम, कर्तव्य र अधिकार
गठन आदेशको दफा ५ अनुसार आदेशमा अन्यत्र उल्लेखित काम, कर्तव्य, अधिकारका अतिरिक्त प्रतिष्ठानको काम, कर्तव्य र अधिकार देहाय अनुसार हुनेछ :—
(क) भाषा, साहित्य, कला, संस्कृति सम्बन्धी आवश्यक नीति तर्जुमाको लागि प्रदेश सरकारलाई राय परामर्श प्रदान गर्ने ।
(ख) प्रदेश भित्रका सबै भाषा, साहित्य, ललितकला, नाट्यकला, सङ्गीत, पुरातत्त्व, संस्कृतिको संरक्षण, संवर्द्धन र विकास गर्ने ।
(ग) भाषा, साहित्य, सङ्गीत, कला र संस्कृतिको अध्ययन-अनुसन्धान गरी उपयोगी ग्रन्थहरू प्रकाशन गर्ने गराउने ।
(घ) प्रदेश भित्रका भाषाहरूको कृति विदेशी भाषाहरूमा अनुवाद गराउने र विदेशी भाषाहरूको कृति प्रदेश भित्रको भाषामा अनुवाद गरी प्रकाशन गर्ने गराउने ।
(ङ) भाषा, साहित्य, संस्कृति, ललितकला, नाट्यकला, सङ्गीत सम्बन्धी विषयमा प्रादेशिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, महोत्सव, प्रदर्शनी, प्रतियोगिताहरूको आयोजना गर्ने गराउने ।
(च) भाषा, साहित्य, संस्कृति, ललितकला, नाट्यकला, सङ्गीत सम्बन्धी विषयमा प्रादेशिक, राष्ट्रिय, अन्तर्राष्ट्रिय गोष्ठी, सम्मेलन, महोत्सव, प्रदर्शनी, प्रतियोगिताहरूमा भाग लिने ।
(छ) भाषा, साहित्य, संस्कृति, ललितकला, नाट्यकला, सङ्गीत सम्बन्धी विषयमा प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग प्रचलित कानुन बमोजिम सम्बन्ध कायम गरी पारस्परिक सहयोगको आदान-प्रदान गर्ने ।
(ज) भाषा, साहित्य, संस्कृति, कला क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तिहरूलाई सम्मान, पुरस्कारको व्यवस्था गर्ने र नव प्रतिभाहरूको खोजी गरी जगेर्ना गर्ने, प्रोत्साहित गर्ने र विकास गर्ने ।
(झ) प्रदेशका सबै जात-जातिका भाषा, लिपि, लोक साहित्य, लोक नृत्य, लोक सङ्गीत, मौलिक संस्कृति र पहिचानको खोजी गर्ने, सङ्ग्रह गर्ने, अनुसन्धान गर्ने, अभिलेखीकरण गर्ने, श्रव्यदृश्य सामग्रगी तयार गर्ने, संरक्षण र संवर्द्धन गर्ने ।
(ञ) प्रदेशका लोपोन्मुख भाषाहरूको शब्दकोश तथा व्याकरण तयार गर्ने ।
(ट) प्रदेश भित्रका साहित्यकार, कलाकार, सङ्गीतकारहरूको वृत्ति विकासमा सहयोग पुर्‍याउने कार्यक्रमहरू तर्जुमा गरी कार्यान्वयन गर्ने ।
(ठ) प्रदेशका सबै भाषा, साहित्य, संस्कृति, कला र पुरातत्त्वको विषयमा अध्ययन, अनुसन्धानको लागि विद्वतवृत्तिको व्यवस्था गर्ने ।
(ड) प्रदेश भित्रका भाषा, साहित्य, कला, संस्कृतिको मौलिकता र विशिष्टतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार-प्रसार गर्ने ।
(ढ) यो आदेशको उद्देश्य पूरा गर्न अन्य आवश्यक कार्य गर्ने गराउने ।

 

प्रतिष्ठानको आगामी कार्ययोजना :—

  1. प्रतिष्ठानको स्थापता तथा सञ्चालन आदेश अनुसार मधेश प्रदेशका सबै भाषा, साहित्य, संस्कृति, कलाको संरक्षण-संवर्द्धन गर्न कार्यक्रम तय गरी तदारुकताका साथ लागू गर्ने ।
  2.  प्रदेश भित्रका मूर्त-अमूर्त सांस्कृतिक सम्पदाको विस्तृत अध्ययन, अन्वेषण गर्ने गराउने र प्राप्त सत्य-तथ्य अवस्थाको प्रकाशन गर्ने ।
  3.  मधेशीहरूको भूगोल र पहिचानलाई ठोस तथ्यको आधारमा परिभाषित गरी प्रमाणिक रूपमा अध्ययन र शोध द्वारा जनसमक्ष ल्याउने कार्य अगाडि बढाउने ।
  4.  प्रदेश भित्रका भाषाहरूको साहित्य, व्याकरण, शब्दकोशको निर्माण गर्ने गराउने ।
  5.  ओझेलमा परेका वा पारिएका भाषा, साहित्य, संस्कृति र कलाका पारखी/विद्वानहरूलाई मूलधारमा ल्याउन कार्ययोजना बनाउने ।
  6.  लोक साहित्य/लिपिहरूको संरक्षण-संवर्द्धन गर्ने कार्यक्रम ल्याउने ।
  7.  प्रादेशिक प्रतिभाहरूलाई कामको आधारमा सम्मानित र पुरस्कृत गर्ने ।
  8.  भाषा, साहित्य, संस्कृति, कला, गीत-सङ्गीत, नाटक आदि क्षेत्रमा महिलाहरूको महत्त्वपूर्ण र जवाफदेहीपूर्ण उपस्थितिलाई सुनिश्चित गर्ने कार्ययोजना बनाई लागू गर्ने ।
  9.  प्रदेश सरकारबाट भाषा, साहित्य, संस्कृति, कला, गीत-सङ्गीत, नाटक आदि क्षेत्रमा बजेट सहितको थप जिम्मेवारी आए त्यसलाई प्रतिष्ठानले आफ्नो जनशक्तिको आधारमा तदारुकताका साथ सञ्चालन गर्ने कार्ययोजना बनाउने ।